क्यानबेरा । अष्ट्रेलियन नेपलिज जर्नालिस्ट एशोसिएशन (एन्जा) ले फेब्रुअरी २१ र २२ मा सम्पन्न अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। अधिवेशनको सफल आयोजनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभाव, प्रमुख अतिथि अष्ट्रेलियास्थित नेपाली राजदूत चित्र लेखा यादव, अन्य विशिष्ट अतिथिहरू, निर्वाचन समितिका संयोजक राजु अधिकारी, सदस्यहरू प्रकाश आचार्य र आशिष सापकोटा, साथै सरोकारवाला सबैप्रति एन्जाले विशेष आभार व्यक्त गरेको छ। कार्यक्रममा स्व. टिका कार्की स्मृति पुरस्कारबाट पत्रकार सरल गुरुङलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रमपछि एन्जाले जारी गरेको पाँच बुँदे घोषणापत्रमा सामुदायिक पत्रकारिताको सुदृढीकरण, व्यावसायिकता र सामाजिक उत्तरदायित्वमा विशेष जोड दिइएको छ।
घोषणापत्रका मुख्य बुँदाहरू:
१. परिचयपत्र र आधिकारिक लोगो:
अष्ट्रेलियामा पत्रकारिता गर्दै रहेका पत्रकार साथीहरूको पहिचान सुदृढ बनाउन एन्जामा आबद्ध सबै सदस्यलाई परिचयपत्र र आधिकारिक लोगो अंकित टि-शर्ट वितरण गरिनेछ। यसले पत्रकारलाई विभिन्न कार्यकमहरूमा सहज रूपमा परिचित गराउनका साथै एन्जाको उपस्थिति मजबुत बनाउने मदत गर्नेछ।
२. समुदायसँगको सहकार्य:
पत्रकारिता समाजको अभिन्न अंग हो भन्ने मान्यतामा, एन्जा र नेपाली समुदाय बीचको सम्बन्धलाई सुदृढ बनाउन निरन्तर अन्तरक्रिया कार्यक्रमहरूलाई प्राथमिकता दिइनेछ। सामुदायिक पत्रकारिता र समुदाय बीचको सम्बन्धलाई समृद्ध बनाउन विभिन्न कार्यक्रमहरूको आयोजना गरिनेछ। सामाजिक विषयवस्तुमा जनचेतना अभिवृद्धि गर्ने अभियानलाई पनि प्राथमिकता दिइनेछ।
३. व्यावसायिक दक्षता अभिवृद्धि:
पत्रकारिता पेशाको विकासमा व्यावसायिक दक्षता महत्वपूर्ण र अभिन्न भूमिका खेल्दछ। नेपाली पत्रकारहरूको पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम, कार्यशाला र सीप अभिवृद्धि कार्यक्रमहरूको आयोजना गरिनेछ। यसले पत्रकारहरूको क्षमतामा वृद्धि गर्नेछ र समाचार सेवामा गुणस्तर कायम राख्न मदत गर्नेछ।
४. आचारसंहिता पालनामा प्रतिबद्धता:
नेपाल समुदायमा सामुदायिक पत्रकारिता गर्दा आचारसंहिता र व्यावसायिक नीतिहरूको पालना गर्दै, व्यावसायिक पत्रकारिता अभ्यासका सिद्धान्तहरूको अनुसरणमा विशेष पहल गरिनेछ। सत्य, निष्पक्षता, मानव अधिकार र न्यायको मर्मलाई मनन गर्दै उच्च नैतिक मापदण्डको पालन गरिनेछ। IFJ र ABC मिडियाको नीतिको पालन गर्दै, पत्रकारको हकहित, व्यावसायिकता र नैतिकताको मानक कायम राखिनेछ।
५. व्यावसायिकता र दिगोपनतर्फको यात्रा:
अष्ट्रेलियामा नेपाली पत्रकारिताको महत्त्व र आवश्यकता पहिचान गरिएको छ। सामुदायिक पत्रकारितालाई थप व्यावसायिक बनाउन, दिगो र सशक्त संरचना निर्माणका लागि क्रियाशील रहनेछ। सूचना सेवालाई तीव्र, विश्वसनीय र सटीक बनाउन नवीन विधिको प्रयोग र आधुनिक कार्यशैलीलाई प्राथमिकता दिइनेछ।
अन्त्यमा, एन्जाले पत्रकारहरूको हकहित संरक्षण, व्यावसायिक दक्षता अभिवृद्धि, आचारसंहिता पालना र समुदायसँग सहकार्य गर्दै सत्य, निष्पक्षता र व्यावसायिकताको बाटोमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
पदाधिकारीहरूको नामावली:
अध्यक्ष: कृष्ण तिवारी
उपाध्यक्ष: माधव प्रसाद गैरे
महासचिव: गणेश भट्ट
सचिव: तक्दीर अधिकारी
कोषाध्यक्ष: खगेन्द्र सत्यााल
पब्लिक अफिसर: कोम खत्री
प्रवक्ता: मिलन दाहाल
सदस्यहरू: सरल गुरुङ, विनायक अधिकारी, केदार रायमाझी, गोपाल छन्त्याल, सबिन बराल