अस्ट्रेलियाको एडिलेडमा शनिबार अष्ट्रेलियन नेप्लिज जर्नलिष्ट एशोसियसन (एन्जा ) को पहिलो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सर्वसम्मतिमा हेमन्त काफ्लेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

कार्य समितिको सह-अध्यक्षमा ऋषि अचार्य, दुई उपाध्यक्षमा निरु त्रिपाठी र सिता रसाइली, महासचिबमा चिरन्जिबी देबकोटा, सचिबमा सरल गुरुङ, कोषाध्यक्षमा कृष्ण तिवारी र सदस्यहरुमा कमल सिलवाल, छत्र शंकर, प्रकाश हुमागाई, खगेन्द्र सत्याल, मिलन दाहाल र सरिता ढकाल रहेका छन् । महिला सहभागितालाई प्राथमिकतामा राख्दै एन्जाका सदस्य बनेका तिनै जना महिलालाई कार्यसमितिमा ल्याइएको छ । कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ भने एक वर्षपछि अध्यक्षले सह-अध्यक्षलाई जिम्मेवारी हस्तान्तरण गर्ने सहमति पनि भएको छ । कार्यक्रममा राजदूत महेश दाहाल, भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जन, साउथ अष्ट्रेलियाका महावाणिज्यदूत दिपक धमला, साउथ अष्ट्रेलियाका सांसद तथा प्रिमियरकी सहायक मन्त्री चिङ लि र एनआरएन आईसिसि उपाध्यक्ष र एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलको उपस्थिति रहेको थियो ।

नवनियुक्त अध्यक्ष हेमन्त काफ्लेले अष्ट्रेलियामा हुर्कदै गरेको नेपाली पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउन संस्थागत प्रयास आवश्यक रहेको बताए ।

अस्ट्रेलियामा सक्रिय पत्रकारिता गरिरहेका नेपालीहरुले २०१९, नोभेम्बर ४ मा एन्जा को गठन गरेका थिए । एन्जाले अष्ट्रेलियामा कार्यरत पत्रकारहरुका लागि आचारसंहिता लागू गर्ने, नियमन गर्ने, गुनासा सुन्ने र पत्रकारलाई तालिमको व्यवस्था गर्नेछ ।