अस्ट्रेलियामा सामुदायिक पत्रकारितालाई अगाडी बढाउँदै जाँदा, विभिन्न किसिमका धम्कीहरू आउने गरेको यहाँ पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरूले बताएका छन् ।

सामुदायिक पत्रकारितालाई अगाडी बढाउँदै जाँदा विकृति र विसङ्गतिका बारेमा सत्य तथ्य समाचार सम्प्रेषण गर्दा – कानुनी प्रक्रियामा लिएर जाने लगायतका धम्कीहरू आउने गरेको उनीहरूले बताएका हुन्।

अस्ट्रेलियामा रहेर पत्रकारिता गरी रहेका नेपाली पत्रकारहरूको संस्था – अस्ट्रेलिया नेपाल पत्रकार महासङ्घ अस्ट्रेलिया (एन्जा)को गत मे १ मा आयोजना गरिएको पहिलो साधारण सभाका क्रममा उक्त खुलासा गरिएको थियो।

नेपाल पत्रकार महासङ्घ अस्ट्रेलियाले साधारण सभा मार्फत यस अघिको सहमति अनुसार नै ऋषि आर्चायलाई पद हस्तान्तरण गरेको छ।

पद हस्तान्तरण पछि एसबीएस नेपालीसँग कुरा गदै निवर्तमान अध्यक्ष हेमन्त काफ्लेले विभिन्न विसङ्गतिका बारेमा लेख्दा आफूलाई धम्कीहरू आउने गरेको खुलासा गरे ।

“अवैध रहेको हुन्डीका विषयमा लगातार लेख्दा मैले धम्कीहरूको सामना गरेको छु ” उनले भने ।

“वास्तवमा पत्रकारिता गर्ने हो भन्ने विद्यार्थीहरूका समस्या, लुट व्रम्ह लुट, दैनिक रूपमा खुलेआम हुने हुन्डीका विषयमा लगायतमा लेख्नु पर्छ” हेमन्त काफ्लेले बताए ।

हाम्रो समुदायका केही सदस्यहरूको नेपालको जस्तै पत्रकारिता होस भन्ने चाहाना छ, यहाँको आचार संहितालाई आधारमा राख्दै समुदायमा सौर्हादता बढाउने योजना छ।

यता, भर्खरै कार्यभार सम्हालेका अध्यक्ष ऋषि आर्चायले पनि समाचारका विषयमा धम्कीहरू आउने कुरालाई स्विकार्छन्।

“समाचार लेखेकै कारणले व्यक्तिले अन्य तनावहरू भोग्नु परिरहेको छ – सङ्गठित भएर काम गर्दा आफ्नो आवाज बलियो हुन्छ, व्यावसायिक पत्रकारिता बलियो रूपमा गर्न सकिन्छ,” आचार्यले भने ।

अस्ट्रेलियामा दर्ता भएर कानूनी रूपमा सञ्चालनमा आएका नेपाली सञ्चार माध्यमलाई जिम्मेवार मिडियाका रूपमा अगाडी बढाउँदै व्यावसायिक बनाएर, यहाँका मानिसले पनि सहकार्य गराउने वातावरण मिलाउन जरुरी रहेको उनको भनाई छ ।

Source: https://www.sbs.com.au/language/nepali/ne/article/anxiety-and-fear-of-threats-in-the-community-journalism/jsa6ehs58