सिड्नी । अस्ट्रेलियामा कार्यरत नेपाली पत्रकारहरूको संस्था अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन (एन्जा) ले नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मालाई औपचारिक रूपमा बधाई दिँदै स्वागत तथा सम्मान गरेको छ । शर्मालाई ११ अप्रिल, शुक्रवार ग्रान्भिलस्थित फ्लेवर अफ नेपालमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघसँग एन्जाले सहकार्य गर्दै अगाडि बढ्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी शर्माले पत्रकार सुरेश रजकको हत्या र सञ्चार संस्थाहरूमाथि भएको आगजनी तथा तोडफोडप्रति आपत्ति र भर्त्सना व्यक्त गर्दै पत्रकार तथा सञ्चारमाध्यममाथि हुने आक्रमण क्षम्य नहुने बताइन् ।

कार्यक्रममा एन्जाका अध्यक्ष कृष्ण तिवारीले अस्ट्रेलियामा करिब दुई लाख नेपालीहरूको बसोबास रहेकोले नेपाली मिडियाको भविष्य उज्ज्वल भए पनि व्यावसायिकता अभाव रहेको बताए । उनले एन्जाले पत्रकार महासंघमार्फत नेपाली पत्रकारहरूको सुरक्षा लगायतका विषयमा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै विगतमा महासंघसँग भएको समझदारीलाई निरन्तरता दिँदै छिट्टै कार्यान्वयनमा ल्याउने जानकारी गराए ।

उक्त कार्यक्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिव भट्टराई, वरिष्ठ पत्रकार तथा देशान्तर पब्लिकेशनका अध्यक्ष कबिर राणा, पत्रकार सचिन पोखरेल, एभिन्यूज टेलिभिजनका कानुनी सल्लाहकार गणेश केसी लगायतलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य एन्जाका महासचिव गणेश भट्टले राखेका थिए भने सञ्चालन सचिव तक्दीर अधिकारीले गरेका थिए।

एन्जाका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिव भट्टराई, वरिष्ठ पत्रकार तथा देशान्तर पब्लिकेशनका अध्यक्ष कबिर राणा, पत्रकार सचिन पोखरेल, एभिन्यूज टेलिभिजनका कानुनी सल्लाहकार गणेश केसी, एन्जाका संस्थापक अध्यक्ष हेमन्त काफ्ले, सल्लाहकारहरू डा. राजु मानन्धर, कानुनी सल्लाहकार डा. सम्शेरसिंह थापा, डिल्ली ढकाल, पत्रकार प्रदीप तिमिल्सिना लगायतले नेपाली पत्रकारिताको चुनौती, प्रवासमा गरिने सामुदायिक पत्रकारिताको योगदान तथा उजागर गर्नुपर्ने विषयमा आफ्नो विचार व्यक्त गरेका थिए ।