अस्ट्रेलियामा छरिएर रहेका नेपाली पत्रकारहरू संगठित भएका छन्। ‘नेप्लीज अस्ट्रेलियन पत्रकार संघ’ तर्दथ समिति गठन गर्दै उनीहरू संगठित भएका हुन्।
नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टको उपस्थितिमा सिड्नीमा तदर्थ समिति घोषणा गरेका हुन्।
सेतोपाटी अस्ट्रेलियाका सम्पादक हेमन्त काफ्लेको संयोजकत्वमा गठित तदर्थ समितिमा अनलाइनखबरका मनऋषी धिताल, नेपालीपत्रका सम्पादक ऋषि आचार्य नेपाल न्युज अस्ट्रेलियाका प्रधान सम्पादक माधव गैरे , एमएन टीभीका सम्पादक चिरन्जीवी देवकोटा, कान्तिपुरका नारायण खड्का, साउथ एशीया डटकमका प्रधान सम्पादक राम खत्री,कान्तिपुर टीभीका सरल गुरुङ, हिमालयन रेडियोका सम्पादक टिका कार्की, एसबीएस नेपाली सेवाका रिजेश अर्याल, नेपाली टाइम्सका सम्पादक सुजित सिग्देल, पुराना पत्रकार तथा लेखक डिल्ली ढकाल, नेपालन्युजका सम्पादक कृष्ण तिवारी, पत्रकार महासंघका पूर्व सदस्य सरिता ढकाल, जर्मन न्युज एजेन्सीका अस्ट्रेलिया प्रतिनिधि सुबेल भण्डारी र पर्थका पत्रकार कमल सिलवाललाई सदस्य छन्।
सिड्नीमा एक कार्यक्रमबिच नेपाल पत्रकार महासंघका महासचिव बिष्टले तदर्थ समितिका संयोजक तथा सदस्यलाई बधाई दिदै प्रवासको पत्रकारितामा देखिएको परिपक्कता बढ्ने बिश्वास ब्यक्त गरे।
प्रवासी नेपाली समाजको हित र संरक्षण अनि नेपाली भाषा, कला, संस्कृतिको जर्गेनाका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
पछिल्लो परिस्थितिमा प्रविधिले पत्रकारितालाई सहजतासँगै चुनौती थपेको बताउँदै बिष्टले भने, ‘सामाजिक सञ्जाललहरू नागरिक पत्रकारिताको रुपमा अगाडि आउँदै गर्दा अन्य पत्रकारिताले आफ्नो अस्तित्वको लागि मर्यादित भएर अगाडि बढ्नुपर्ने बेला आएको छ।’
अस्ट्रेलियामा दर्ता भए पनि नेपाल पत्रकार महासंघसँगको आवद्धतामा अगाढि बढ्ने यस समितिले अस्ट्रेलियामा बढ्दो नेपाली समाजको हक हित र एकताको लागि कलम चलाउने बिश्वास ब्यक्त गर्दै महासचिव बिष्टले यहाँ पत्रकारिता गर्दै गर्दा सम्वन्धित मुलुकको कानुन र परिधि भित्र रहेर पत्रकारिता गर्न आग्रह समेत गरे।
घोषणासभामा विशेष अतिथिका तर्फबाट बोल्दै एनआरएन ओसेनिया संयोजक धर्मराज अधिकारीले प्रवासी पत्रकारिताको आवश्यकता रहेको औलाउँदै अस्ट्रेलियामा सबै पत्रकारहरू संगठित भएकोमा बधाई दिए।
अधिकारीले अस्ट्रेलियाको सवालमा समाजलाई जोड्ने र यसका हितका खातिर कलम चलाउने अहिलेको आवश्यकता रहेको र पत्रकारले पनि स्वयंसेवाका रुपमा सामाजिक पत्रकारिता गरिरहेको सुनाए।
घोषणासभामा समाजिक संघ संस्थाका तर्फबाट बोल्दै अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले प्रवासी पत्रकारिताले गति लिँदै गर्दा समाचार लेखनमा गम्भीर हुनुपर्ने बताए।
सानो समाचारले समाजमा ठूलो प्रभाव पार्ने हुनाले समाचार पस्किँदा सत्य र तथ्यको आधारमा कलम चलाए यसले दिगो स्वरुप लिने पोखरेलले सुनाए।
कार्यक्रममा नेपाली समाजकी अगुवा इन्द्रा वनले प्रारम्भका दिनहरुमा आपसी सञ्चारका लागि सुरु गरिएको केही अनलाईन र पत्रिका दिगो बन्न नसकेको उदाहरण दिँदै पछिल्ला दिनहरुमा भने यसले फट्को मारेको बताइन्।
कार्यक्रममा एनआरएन आइसीसी सदस्य दिनेश जोशीले बास्तवमै अस्ट्रेलियामा पत्रकारहरूको साझा संगठनको आवश्यकता रहेको र यसले पत्रकारको एकताका लागि मात्र नभइ नेपाली समाजको लागि पनि फाइदा पुग्ने धारणा राखे।
कार्यक्रममा एनआरएनका उपाध्यक्ष नन्द गुरुङ ,आदिवासी जनजाति मन्च अस्ट्रेलियाका अध्यक्ष अरुण तामाङ, ओएनएफका अध्यक्ष रमेश पाण्डेले पत्रकारको भूमिकाबारे चर्चा गरेका थिए।